
प्रश्न
धेरै जनाले मलाई सोधेको प्रश्न, परिवारमा म एकलो विश्वासी हुँ। बुबाआमा वृद्धवृद्धा भइसके। केही गरी संसार छोडे भने मैले कपाल नखौरँदा समाजले क्रियाकर्म नगर्ने छोरो भनेर हेलाँ गर्छ। मैले कपाल खौरँदा के हुन्छ?
उत्तर
म पञ्चायतकालको कुरा गर्दैछु, ख्रीष्टियान छोरोलाई बुबा मर्दा आफन्तहरूले जबरजस्ती कपाल खौराइदिएका घटनाहरू छन्। त्यो बेला अहिलेको जस्तो मानव अधिकार र स्वतन्त्रताको अभ्यास गरिँदैनथ्यो। ख्रीष्टियान विश्वास कानूनतः अपराध थियो। क्रियाकर्म नगर्ने कि ख्रीष्टियान कि त कम्युनिष्ट भनेर चिनिन्थे। कम्युनिष्टलाई पनि अबुझहरूले ख्रीष्टियान नै भन्दथे र अझै पनि भन्दोरहेछन्।
परिवारको एकलो छोरोले विश्वास नगर्ने बुबाआमा मर्दा कपाल खौरने कि नखौरने भन्ने प्रश्न एक हिसाबले गाह्रो छ, तर अर्कोतिर यो खास ठूलो समस्या पनि होइन। कपाल खौरँदैमा बिग्रने त केही पनि देखिँदैन, तर किन खौरन्छ भन्ने कुरो बुझ्नुपर्यो। यो सांस्कृतिक हो कि धार्मिक हो भनेर छुट्याउनुपर्दछ। सांस्कृतिक हो भने विवेक चलाउनुस्, तर धार्मिक चलन हो भने परहेज गर्नुहोस्। नेपालमा धर्मसँग नजोडिएको कुनै पनि संस्कार छैन। यसकारण यो बाइबलसम्मत हो कि होइन, अनि विश्वाससँग मेल खान्छ कि खाँदैन भन्ने कुरो हेर्नुस्। आफन्त मर्दा बाइबलमा कपाल खौराएको उदाहरण छ भने पनि त्यसलाई जाँच्नुस्। आफूलाई जे ठीक लाग्छ, त्यो गर्न सकिएला, तर यसले प्रभु र मण्डलीको इज्जत हुन्छ कि हुँदैन भन्ने कुरा पनि विचार गर्नुस्, नत्र विवेकले दोष्याउने काम हुनसक्छ।
अब व्यावहारिक कुरा गरौँ, प्रभुलाई विश्वास गरिसकेपछि पनि विश्वास नगर्ने तपाईंका परिवारका सदस्यहरूले मर्दापर्दाका कर्मकाण्डहरूमा तपाईंको सहभागिता खोज्नु ठीकै हो, तर तिनीहरूले तपाईंलाई बाध्य पार्न सक्दैन। बाध्य पारेर कपाल खौराइदिएछ भने यसमा चिन्ता लिनु हुँदैन, तर आफ्नै बुबा मर्दा कपाल नखौरँदा समाजले तपाईंलाई के भन्लान् भनेर पीर गर्नु आत्मिक अपरिपक्वता हो। अरूले जे पनि भन्न सक्छ। भन्लान्, फलानाले कपाल खौराएनन्। विश्वास नगर्नेले नै यस्तो आपत्ति पनि जनाएर भन्लान्, ”हेर त, ख्रीष्टियान भएर पनि कपाल खौरे।” मरौपरौमा सम्झौता गरेर यता न उता भएका ख्रीष्टियानहरू पनि छन्। कपाल खौरेपछि यता ख्रीष्टियानले पनि अर्कै नजरले हेर्ने र अर्को समाजले पनि अन्यथा अर्थ लाउने हुँदा यता न उताका हुने सम्भावना छ।
‘क्रियाकर्म नगर्ने त छोरा नै होइन’ भन्छन् भने त्यसमा डराउनुपर्ने कुरो के छ र? तपाईं ख्रीष्टियान भएको कारण तिनीहरू पहिला पनि तपाईंको विरुद्ध थिए भने अहिले विरोध गर्ने नयाँ मौका पाएको सम्झिदिनुपर्छ। बोल्न दिनुहोस्। तिनीहरूले बोलेर केही हुँदैन।
उहिलेको संस्कारअनुसार छोरा भनेको संस्कार गर्नको लागि मात्र हुन् भन्ने देखिन्छ, जब कि छोराको भूमिका तीभन्दा कैयौँ महान् छ। मरेपछि होइन, जीवित हुँदा नै भूमिका खेलेको खण्डमा यस्ता दोषहरूले हामीलाई केही हानी गर्दैन।
समाजले के भन्ला भन्ने डर भएको मानिसचाहिँ हलोमा हात राखेर पछाडि फर्कने व्यक्ति वा लोतको श्रीमतीजस्तै पछाडि फर्कने मानिस हो। तपाईंलाई पापबाट बचाउनको लागि येशूले क्रूसमा प्राण दिनुभयो भने, के तपाईंले उहाँकै खातिर कपाल नखौरिँदा समाजले गर्ने हेलाँको कारण चिन्तित बन्नुहुन्छ?
ख्रीष्टियान भएपछि पनि कपाल खौरिएकाहरूलाई ख्रीष्टियान समाजले हेर्ने दृष्टिकोण पनि उति उत्साहजनक छैन। म पुतली सडक मण्डली (हालको बेथशालोम) मा जवान अगुवा हुँदाको एउटा घटना घटेको छ। तराइको एक जना साथीले प्रभुलाई विश्वास गरेको थियो। बुबा बितेको खबर आयो। उनी घर गए। फर्केर आउँदा कपाल खौरेको देखेपछि हामीमध्ये धेरैले उसलाई अर्कै नजरबाट हेर्यौँ। त्यो कुरो उनले बुझेपछि मण्डली आउन छोड्यो। हामीले बुबा बितेकोमा उनलाई सान्त्वना दिनुपर्थ्यो, त्यो काम हामीबाट भएन। अहिले पनि कुनै ख्रीष्टियानले बुबा मर्दा कपाल खौरेछ भने कुन नजरबाट हेर्लान् भन्ने कुरो बुझ्नु पर्दछ।
यस्तो नहोस् कि बुबाआमाको मृतसंस्कार गर्दा हिन्दूहरूले कपाल खौरेको कारण ख्रीष्टियानहरूले खौरनुहुँदैन भनेर अनावश्यक तर्क गर्नुहुँदैन किनकि ख्रीष्टियानको काम हिन्दूहरूले गर्ने कामलाई इन्कार गर्दै हिँड्ने होइन। अर्काको धार्मिक संस्कारप्रति कुनै पनि नकारात्मक टिप्पणी गरेर चित्त दुखाउने काम गर्नु हुँदैन।
निष्कर्ष
कपाल खौरनुको अर्थ धेरै छ, तर आफन्त मर्दा शोक गर्ने चलन हो। सुन्दरतालाई त्याग्नु हो। आफूलाई इन्कार गर्नु हो। कपाल खौरेपछि आफ्नो सुन्दरतालाई इन्कार गरिन्छ। शोक हो, तर यसलाई अन्य धर्महरूबाट परिभाषित गरेको छ र बाइबलले इन्कार गर्छ भने मात्र यसलाई इन्कार गर्ने।