BusinessFoodsGamesLife StyleTechTravelWorld

बेथलेहेमको बाध्यता

ए बेथलेहेम एप्राता, तँ यहूदाका कुलहरूमध्ये सानो भए तापनि तँबाट मेरो निम्ति एक जना निस्कनुहुनेछ, जो इस्राएलका शासक हुनुहुनेछ, जसको शुरू पुरानो समयदेखि, अर्थात् प्राचीनकालदेखि नै छ” (मीका ५:२)।

परमेश्वरले गर्नुभएका सबै प्रतिज्ञाहरू हामीले चाहेजस्तो धूमधाम कार्यक्रमसहित पूरा भएको हिसाब बाइबलमा पढ्न पाइँदैन। अब्राहामलाई नै हेर्नुस्। सबैले उनीबाट आशिष् पाउने र उनकै सन्तानले सर्वत्र ढाक्ने प्रतिज्ञा दिइयो (उत्पत्ति १२:३ र १७ अध्याय) तर प्रतिज्ञा पूरा हुने दिन पर्खंदा–पर्खंदा तिनीहरू हैरान भए। बूढेस्कालमा छोरो इसहाक त जन्मिए तर उनलाई पनि बलिदान दिनुपर्ने मागले रहेको एउटा बीउ पनि झण्डै हरण भयो। अब्राहाम र साराले पनि प्रतिज्ञा धूमधामसँग पूरा हुने अपेक्षा राखेको हुनुपर्छ तर पर्खन नजानेर इश्माएलको जन्म भयो। मानव इतिहासमा यो ठूलो दुर्घटना हो। गरिएका प्रतिज्ञाहरू ‘नहोला–नहोला’जस्तो भएर नै पूरा भएका कैयौं घटनाहरू बाइबलमा उल्लेख गरिएका छन्। येशूको जन्ममा पनि यही सूत्रले काम गरेको देखिन्छ। बेथलेहेममा मुक्तिदाताको जन्म हुनुपर्छ भन्ने भविष्यवाणी लगभग ५०० वर्षअघि मीका अगमवक्ताबाट भयो जब कि मरियम बेथलेहेमवासी थिइनन्।

बाइबलको नक्सा हेर्ने हो भने बेथलेहेम इस्राएलको दक्षिणी सीमानातिर पर्दछ भने नासरत उत्तरी सीमानामा पर्दछ।  उत्तरदेखि दक्षिणको दूरी लगभग ८० माइल देखाइएको छ।1 येशूलाई जन्माउने बेलामा कैसर अगस्टसको नाम दर्ता गराउने उर्दीले योसेफ र मरियमलाई बेथलेहेममा जान बाध्य बनायो। त्यस बेलाको ८० माइल लगभग ४–५ दिनको पैदल यात्रा थियो। गर्भको भारी बोकेकी मरियमको लागि त यात्रा भन्नै नसकिने कठिन थियो। यस्तो अवस्थामा मरियमले आफू यात्रा गर्न नसक्ने जायज कारण दिँदासमेत कैसर अगस्टसको जनगणना लिने उर्दी (लूका २:१) ले तिनलाई नासरतमा नै रहेर बच्चा जन्माउन छुट दिएन किनकि रोमी सम्राट्को उर्दी उल्लङ्घन गर्ने छुट कसैलाई थिएन।2 मरियमको लागि यो अन्याय र अमानवीयता हो तर नासरतमा बस्ने छुट पाएको भए येशूको जन्म नासरतमा हुनेथियो र मीका ५:२अनुसार बेथलेहेममा जन्म हुने भविष्यवाणी फेल खाने थियो। मसीहको जन्म बेथलेहममा हुनुपर्छ भन्ने भविष्यवाणी मरियमलाई थाहा भएको भए उर्दी दिइनुअघि नै बेथलेहेम गइसक्थे तर जन्मनै लागेको बेला लगाइएको अगस्टसको उर्दीले हतारसँग बेथलेहेमतिर यात्रा गर्न बाध्य पार्यो। आखिर त्यस बाध्यताभित्र परमेश्वरको योजना लुकेको रहेछ। विश्वास नगर्ने रोमी सम्राट्को उर्दीबाट निकाल्न सकिने अन्य ईश्वरशास्त्रीय अर्थ पनि होलान् तर आज हामी निर्धक्कसँग भन्न सक्छौं कि बेथलेहेममा जाने योजना परमेश्वरले कैसर अगस्टसको टर्न नसकिने उर्दीबाट पूरा गर्नुभयो। मरियमप्रति अगस्टसको असम्वेदनीय कदमले धेरै वर्षअघि साँचिएको प्रतिज्ञा पूरा भयो। यसरी प्रभुको महान् कार्य नहोला–नहोलाजस्तो भएर नै पूरा हुँदछ। इतिहास परमेश्वरको अधीनमा छ।

End Notes

1. Eli of Kittim, The Little Book of Revelation: The First Coming of Jesus at the End of Days (np: Xlibris Corporation, 2013), 122.2. R. C. H. Lenski, The Interpretation of St. Paul’s Epistles to the Colossians and Thessalonians (Minneapolis: Augsburg Fortress,  2008), 140.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button