BusinessFoodsGamesLife StyleTechTravelWorld

के नेपालीहरू प्रलोभनमा परेर ख्रीष्टियान बनेका हुन् त?

 ख्रीष्टियानहरूमाथि लाइँदै आएका आरोपहरू कैयौँ छन्, तर आजचाहिँ ”सोझाहरूलाई प्रलोभनमा पारेर ख्रीष्टियान बनाइन्छ” भन्ने आरोपलाई छोटकरीमा सम्बोधन गर्दैछु। सबैभन्दा पहिला, प्रलोभनको अर्थ केलाउन लागौँ। नेपाली बृहत् शब्दकोशले यसरी परिभाषित गर्छः १. धनमाल, वस्तु आदिमा ज्यादै मात्रामा गरिने लोभ; ठूलो लोभ; लालच। २. कसैलाई लोभमा पार्ने क्रिया।

ख्रीष्टियानहरूले मानिसलाई प्रलोभनमा पार्नु भनेको ख्रीष्टियान बन्नको लागि भौतिक लाभको आशा देखायो भन्ने हो। यसलाई अझ सरल ढङ्गले भनौँ, ”तिम्रो धर्म छोडेर ख्रीष्टियान धर्म मान्यौ भने, म तिमीलाई यति हजार वा लाख दिन्छु। यस्तो वा उस्तो फाइदा दिन्छु” भन्नु हो। कठै! नेपाली ख्रीष्टियानहरूसँग यस्तो हैसियत होला त!

पैसा दिएर काम गर्नको लागि श्रमिकसमेत नपाइने जमानामा कसैलाई रुपियाँ–पैसा वा अन्य भौतिक सहायताको आस देखाएर ख्रीष्टियान बनाइएको आरोप कति पनि पत्यार गर्नलायकको छैन। यी आरोप लाउनेहरूले अरू केही नबुझे पनि केवल हजारौँ ख्रीष्टियानहरूको जवान छोराछोरीहरू आम नेपालीका छोराछोरीहरूजस्तै वैदेशिक रोजगारीको लागि परिवार छोडेर विदेश गएका छन् भन्ने तथ्य मात्र बुझिदिए पुग्छ।

हामी स्पष्ट पार्न चाहन्छौँ,

पहिलो कुरो, नेपाली ख्रीष्टियानहरू मेहनत गरेर खाने कर्मठ मानिसहरू हुन्।

दोस्रो कुरो, पैसा बाँडेर भाडामा ख्रीष्टियान बनाउने भन्ने आरोप घटिया सोचको उपज हो। अर्काको विषयमा खराब मात्र सोच्दा–सोच्दा आफू खराब भइसकेको थाहा नपाएको अवस्था हो। जे सोचिन्छ, त्यही बोलिन्छ र त्यसैलाई व्यवहारमा पनि उत्रिन्छ।

तेस्रो कुरो, लोभमा पारेर ख्रीष्टियान भएको प्रमाण अहिलेसम्म नेपालमा कसैले पेश गर्न सकेको छैन र सक्दैनन् पनि। आफू ख्रीष्टियान भएर पछुतो मान्नेहरू कहीँ कतै हुनसक्छन्, नत्र सबै जना गर्व गर्छन्।

चौथो, यो ख्रीष्टियानप्रति भ्रम फैलाउने षड्यन्त्र मात्र हो। पैसाको लागि धर्म बेचेको हल्ला फैलाएपछि मानिसमा घृणा पैदा हुन्छ र त्यो घृणालाई चलाएर फाइदा लिने, अर्थात् मानिसहरूमा घृणा फैलाएर आफ्नो धार्मिक वर्चस्व जोगाउने गलत प्रयास मात्र हो।

यस किसिमको भ्रम छरिएको कारण कति मानिसहरू चर्चमा केही पाइने आसले आउँदछन्।  हाम्रै चर्चमा पनि आए। हातमा केही नपर्ने देखिएपछि कोही चुपचाप निस्कन्छन्, कोहीचाहिँ चर्चले मलाई केही गरेन भनेर निहूँ खोज्छन् र कोहीचाहिँ ‘तिमीहरूको मात्र चर्च छ र, अर्को चर्च गएर देखाइदिन्छौँ’ भन्नेहरू पनि यदाकदा हुँदछन्। यसरी आउनेहरूमध्ये कतिले चर्च आउँदा–आउँदा आफूले सुनेको र सोचेको भन्दा फरक देखेपछि अझ बुझ्ने कोसिस गर्ने क्रममा येशूलाई विश्वास पनि गरेका छन्।

लोभको विषयमा बाइबलले भन्छ, ‘लोभको नामसमेत नलेओ।’ लोभ गर्नु मोशाद्वारा दिइएको व्यवस्थाको उल्लङ्घन हो। लोभको विरोध गरिएका दर्जनौँ खण्डहरू बाइबलमा छन्, जसमध्ये केही यहाँ उल्लेख गर्दैछु,

– न्‍याय कायम गरेर राजाले देशलाई स्‍थायित्‍व दिन्‍छ, तर घूसको लोभ गर्नेले मुलुकलाई सर्वनाश गर्छ (हितोपदेश 29:4)।

– आफूसँग जे छ त्‍यसमा सन्‍तुष्‍ट हुनु अरू कुराको लोभ गरिरहनुभन्‍दा असल छ। यो पनि व्‍यर्थ, र बतासलाई खेदेको जस्‍तो मात्र हो (उपदेशक 6:9)

लोभले मानिसलाई कहिल्यै पनि परमेश्वरको बन्दोबस्तमा विश्वास गर्न साथ दिँदैन। आनन्दमा बाँच्न साथ दिँदैन। परमेश्वरको आशिषलाई ओझेल पार्छ। लोभसँग जोडिएर आउने अर्को पाप झूट हो। लोभ गर्नेले जहिले पनि झूट बोल्छ। झूट सधैँ टिक्दैन। यसकारण लोभमा पर्नेहरू कोही पनि शान्तिसँग बाँच्न सक्दैनन्। चर्चमा आएका मानिसहरू परमेश्वरबाट पाइने मुक्तिमा रमाउन सक्दैन भने भौतिक लाभको आसमा धाउनेहरू धोकामा पर्ने खतरा छ। येशूमा पाइने मुक्तिबाहेक अरू केही पनि सित्तैँमा पाइँदैन। सबैको मूल्य पर्छ। अतः मुक्तिबाहेक अरू थोक पनि सित्तैँमा पाइने आशा गर्नेहरू धोकामा पर्नेछन्!

लालचमा परेर कोही ख्रीष्टियान बनेको रहेछ भने, त्यो ख्रीष्टियान नै होइन, त्यो मानिस केही पाउँछ कि भन्ने आसले चर्च धाएको मात्र हो। स्वार्थ पूरा होस् वा नहोस्, ऊ एक दिन पुरानै मार्गमा फर्कनेछ। त्यस्तालाई कसैले पनि चिन्ता गर्नुपर्दैन। प्रलोभन देखाएर मानिसलाई लामो समयसम्म कसैले पनि अडाउन सक्दैन किनकि मानिसको अतृप्त चाहना पूरा गर्ने समय र धन कसैसँग छैन। यसकारण अलिकति मात्र विवेक चलाएर यस तथ्यलाई बुझिदिने हो भने लोभमा परेका मानिसहरूको विषयमा कसैले पनि फाल्तु कुरा गरेर समय खेर फाल्ने थिएन।

येशूको कुरा नगर्ने, तर खालि शरीरको रोग निको हुने, फलिफाप हुनेजस्ता कुरा गर्ने ख्रीष्टियानहरू पनि छन्। त्यस्ताहरूसँग धेरै जना झुक्किएका छन्। तिनीहरूले गैर–ख्रीष्टियानलाई भन्दा हामीजस्ता ख्रीष्टियानहरूलाई बढी हानि गरेका छन्। स्वर्ग, धनलाभ, सुखशान्तिजस्ता प्रलोभन देखाउने काम हरेकजसो धर्महरूमा छन्, यसमा ख्रीष्टियान मात्र पर्दैनन्। एकाधले गर्ने गल्तीलाई लिएर सिँगो धार्मिक समुदायलाई मुछ्न मिल्दैन।

बाइबलको सन्देस सुनेपछि मानिसहरू लोभिने अवस्था पनि छ। हामी बाइबलको मूल सन्देस यसरी बताउँछौँ, ”परमेश्वरले विभिन्न जातका मानिसहरू होइन, केवल नर र नारी बनाउनुभयो। यसकारण जातीय भेदभाव पाप हो। परमेश्वरले पापीलाई प्रेम गर्नुहुन्छ।” यी सन्देसहरूले त्यस्ताहरूलाई छुन्छन्, जो उत्पीडित छन् र तिनीहरूले येशूलाई विश्वास गरेको खण्डमा प्रलोभनमा परेको भन्न मिल्दैन, किनकि यो सत्य हो।

ख्रीष्टियानहरूले प्रलोभनमा पारेको आरोप लाउने मित्रहरू, सुन्नुहोस्! तपाईंहरूले आफ्नै समाजको बेइज्जत गर्दै हुनुहुन्छ। किन भन्नुहोला भने, पहिलो कुरो, ‘प्रलोभनमा परेका मानिसहरू’ भनेर तपाईंहरूले जसलाई भन्दै हुनुहुन्छ, तिनीहरू आफ्नै समाजका सदस्यहरू हुन्। तपाईंहरूकै आस्थाका मानिसहरू हुन्। तपाईंहरू सही हुनुहुन्छ भने, तपाईंहरूकै धर्म मान्नेहरू किन प्रलोभनमा पर्छन्, कहिल्यै विचार गर्नुभएको छ? तिनीहरू प्रलोभनमा पर्नुमा कतै तपाईंहरू स्वयम् दोषी त हुनुहुन्न? ख्रीष्टियानहरूलाई आरोप लगाइरहँदा तपाईंले घुमाउरो तवरले भन्दै हुनुहुन्छ, ”हामी प्रलोभनमा पर्ने गरी बाँचिरहेका छौँ। प्रलोभित हुने समाजको सृजना गर्दैछौँ।” अरूलाई बदनाम गरेर आनन्द लिइरहँदा यसले मानसिक दरिद्रताको तस्बिरलाई देखाइरहेको हुन्छ भन्ने कुरो नबिर्सनुस्।

कोही प्रलोभनमा परेर ख्रीष्टियान भएका रहेछन् र तिनीहरू हाम्रो चर्चमा आइरहेको देख्नुभयो भने तिनीहरूलाई फिर्ता लानुस् – हामीलाई प्रलोभनमा परेका सदस्यहरू चाहिँदैन। तपाईंहरूको भनाइअनुसार, तिनीहरूलाई फिर्ता लान सजिलो हुनुपर्ने हो किनकि तपाईंहरूको नजरमा तिनीहरू भनेका पैसामा बिक्ने मानिसहरू हुन्। अलि बढी तिरेपछि तिनीहरूले तपाईंलाई कसो नपछ्याउँलान्?

निष्कर्ष

आर्थिक/भौतिक प्रलोभनमा परेर कोही ख्रीष्टियान भएको भए, यति धेरै मानिसहरू चर्चमा आउने थिएनन् र आएर पनि फर्किसक्थे। म आफै पनि लगातार ३५ वर्षदेखि येशूसँग यात्रा गर्दैछु। लाखौँका सङ्ख्यामा नेपालीहरूले येशूलाई अँगालेका छन् र अँगाल्दैछन्। प्रलोभनमा परेर कोही पनि चर्चमा आउँदैन र आएछन् भने पनि तिनीहरू केही समयपछि आफ्नै पुरानो धर्मतिर फर्कनेछन्। त्यस्ताहरूको चिन्ता किन गर्ने?

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button