GamesLife StyleTechTravelWorld

नैराश्यतामा परमेश्वरको जवाफ

मानिसले गर्ने चिन्ता–फिक्री कतिसम्म वास्तविक छ भन्ने कुरो अध्ययन गर्दा यस्तो भेटियो:

– मानिसले गर्ने चिन्ताको ४० प्रतिशत हुँदै नहुने कुरामा केन्द्रित हुन्छ।

– मानिसको ३० प्रतिशत चिन्ता बिगतका कुराहरूमा केन्द्रित हुँदछन्। त्यसलाई चिन्ता गरेर परिवर्तन गर्न सकिँदैन। मानिसको ७० प्रतिशत चिन्ता अनावश्यक हुन्। अब बाँकी रह्यो ३० प्रतिशत! त्यसमध्ये पनि,

– मानिसको १२ प्रतिशत चिन्ता अरूले लाउने आरोपमा केन्द्रित हुँदछ, ती प्राय सही हुँदैनन्।

– मानिसको १० प्रतिशत चिन्ता स्वास्थ्यप्रति हुँदोरहेछ। चिन्ताले स्वास्थ्यलाई झन् बिगार्छ।

– बाँकी रहेको मानिसको ८ प्रतिशत चिन्ता मात्र वास्तविक हुँदछन्, ती सामना गरेरै छाडिन्छ।

अहिले हामीले पढेको खण्डले हामीलाई चिन्ता–फिक्री मानिसको आफ्नै दिमागका सृजना हुन्, तर त्यसलाई परमेश्वरको नजरबाट हेर्न जानिएको खण्डमा ती हाम्रै वशमा हुँदछन् भन्ने पाठ सिकाउँछ। इस्राएलका महान् अगमवक्ता एलियालाई हेर्नुस्,

यहूदी इतिहासमा उनी जतिको महान् अगमवक्ता अरू कोही थिएनन्। पुस्तक नलेखे पनि उनको चर्चा अरूको तुलनामा बढी नै गरिन्छ। हामीमध्ये धेरैलाई उनका घटनाहरू कण्ठस्थ छ। परमेश्वरका अचम्मका धेरै कामहरू उनीद्वारा गरिए। यो खण्डको प्रसङ्ग हेर्ने हो भने कार्मेलमा बाल देवताका अगमवक्ताहरूका सामुन्ने बलिका थोकलाई स्वर्गबाट आगो बर्साएर जलाउने बाजी उनले जितेका मात्र होइनन्, परमेश्वर को हुनुहुन्छ भन्ने कुरो पनि प्रमाणित गरेर छाडे। त्यो सानो जीत थिएन, तर पनि यसलाई विजयी उत्सवको रूपमा उनले मनाउन सकेनन्। रानी ईजेबेलले मार्ने धम्की दिएपछि उनी ज्यान जोगाउनको लागि हतार गरेर उत्तरदेखि दक्षिणसम्म भागे। एलिया सिद्ध मानिस होइनन्। हामीजस्तै निराशाले गाँज्न सक्ने साधारण मानिस हुन् (याकूब ५:१७–१८), तर त्यस्तो अवस्थाबाट परमेश्वरले आफ्नो जनलाई कसरी उठाउनुहुन्छ भन्ने कुरो हामीले सिक्नैपर्दछ। निराशाले हामीलाई हिजोको दिन प्रभुले कसरी चलाउनुभयो भन्ने कुरो बिर्सने बनाउँछ। वर्तमानमा दिइएको मौकाप्रति बितृष्णा बढाउँछ। वर्तमानको मौका नबुझेपछि भविष्य झन् असुरक्षित देख्ने बनाउँछ। अविश्वासले जरा गाडेपछि परमेश्वरको काम गर्ने समय र तरिकामा ध्यान जाँदैन। फलस्वरूप भाग्ने भगौडा बनाउँछ। एलिया जस्तो महान् व्यक्तिको यो कमजोरी यहाँ नलुकाईकन पवित्र आत्माले हामीलाई सिकाउँदै हुनुहुन्छ कि हामी पनि नैराश्यतामा पर्न सक्छौँ, तर परमेश्वरले हामीलाई त्यतिकै छाड्नुहुन्न भन्ने वचनलाई हामी केही बुँदाहरूमा विभाजन गरेर बुझ्न लागौँ:

क) धम्की आउने परिस्थितिलाई स्वीकार गर्नुपर्दछ (१–२)
हामी प्रभुको सेवा गर्छौं भने धम्की खेप्नु पनि सेवाको एउटा भाग हो – यसलाई इन्कार गर्न सकिँदैन। धम्की जहाँबाट पनि आउन सक्छ। निष्क्रिय मानिसलाई कसैले पनि धम्की दिँदैन, किनकि ऊ धम्की दिइनयोग्यको मानिस होइन। राम्रो र नराम्रो काम गर्ने दुवैलाई धम्की दिइनसक्छ – बढीचाहिँ राम्रो काम गर्नेलाई दिइन्छ। तपाईंको असल कार्यले कसैको चैनमा बाधा दिन्छ भने उसले आफ्नो सुरक्षाको लागि तपाईंलाई खतरनाक प्रतिद्वन्दीको रूपमा लिनसक्छ। एलिया पनि चुप लागेर बसेको भए, उनलाई कसैले धम्की दिने थिएन। हामी यहाँ पढ्दछौँ,

‘उनले गरेका सबै काम’को चर्चा भयो (१ पद)।

यहाँ एलियाले गरेको कामको चर्चा भएको छ। योचाहिँ ठूलो कुरा हो। केही न केही काम भएको कारण नै चर्चा भयो। काम नगरिएको भए, चर्चा हुने नै थिएन। धम्की दिइनलायकको काम भयो। एलियाले गरेको काम बारे राजा आहाब आफैले आफ्नै दुष्ट श्रीमती ईजेबेललाई खबर दिए। काम के हो त? एलियाद्वारा बाल देवताका अगमवक्ताहरूको सफाइ र परमेश्वरको उपस्थितिलाई प्रकट!

खुसीको कुरो यो हो, आफूले गरेका असल कार्यहरूको प्रचार–प्रसार एलिया आफैले गर्नु परेन – राजा आहाबले नै गरिदिए। परमेश्वरले उनीमार्फत गर्नुभएको अचम्मको काम देखेर मानिसहरू प्रभुमा फर्कनुपर्ने हो। इस्राएलमा परमेश्वरको आराधना हुनुपर्ने हो र एलिया प्रसिद्ध हुनुपर्ने हो, तर त्यसको ठीक उल्टो, उनको ज्यानको पछाडि इस्राएलको राजपरिवार नै लाग्यो। देवताहरूको नाममा शपथ खाएर ईजेबेलले समाचारवाहक खटाएर एलियालाई मार्ने धम्की दिइन्। राजकीय शक्ति, अधिकार र देशको जनशक्तिको दुरुपयोग गरेर अगमवक्तालाई सिध्याउने योजना रचियो। पहिला पनि एलियालाई सिध्याउनको लागि गुप्तचरहरू खटाइएका थिए, र खोज्नसम्म खोजियो, तर परमेश्वरले विशेष उपाय दिएर उनलाई जोगाउनुभयो। ईजेबेलको धम्कीलाई विचार गर्नुस् तः छन्द मिलाएर गीत वा कविताको भाकामा यसरी भनियो

‘‘जसरी तैंले उनीहरूको प्राण लिइस्, त्यसरी नै भोलि यही बेलासम्म तेरो प्राण पनि मैले लिइनँ भने, देवताहरूले मलाई त्यस्तै वा त्योभन्दा बढी व्यवहार गरून्।’’ एलियाको ज्यान लिनको लागि ईजेबेलले आफू नाश भए पनि मतलब राखिनन्। यी इस्राएलभन्दा बाहिरका विवाह गर्न निषेध गरिएको देशकी चेली हुन्। याहोवेलाई पुज्ने इस्राएलमा यिनैले बाल देवता र पूजाहारीहरू माइतबाट झिकाएकी थिइन्। साँचो परमेश्वरको अगमवक्तालाई यिनी देखी–सहन्न् ईजेबेल! एलियाको कारण तिनको अधार्मिकताको जग भत्कियो। यो परमेश्वरबाट आएको प्रहार थियो। यो प्रहारलाई खप्न नसकेर तिनले उनलाई मार्ने धम्की दिइन्। वास्तवमा एलिया धन्यका हुन्, किनकि सत्यताको खातिर उनीबाट धम्की दिइनयोग्यको असल काम भयो।

ईश्वरशास्त्रीय शिक्षा
यो वचन सुन्दै गर्दा सायद तपाईंलाई पनि कसैले टेलिफोन, इमेल वा फेसबुकजस्तो सञ्चारका माध्यमबाट “तँलाई ढोकैमा आएर सिध्याइदिन्छु, खलास पारिदिन्छु, उडाइदिन्छु, तेरो यो वा त्यो गरिदिन्छु” भनेर धम्की दिएको याद आउन सक्छ वा तपाईंले अहिले पनि त्यस्तो धम्कीको सामना गर्दै गर्नुभएको पनि हुनसक्छ। यस्तो धम्की किन आइरहेको छ, सो जाँच्नस्। आफ्नो गल्ती छैन भने डराउनु पर्दैन। धम्की जोबाट पनि आउन सक्छ। ख्रीष्टियान भनेर चिनिनेबाट पनि आउँछ, यसमा तपाईँ अचम्भित हुनुपर्दैन किनकि ईजेबेलको आत्माले नाम मात्राका ख्रीष्टियानहरूलाई चलाउन सक्छ। गैर–ख्रीष्टियानहरूबाट नआउने त कुरै भएन। हामीले यो बिर्सनु हुँदैन कि ईजेबेलको आत्मा, अर्थात् शैतानले धम्की दिएर तर्साउने संसारमा हामी बाँचिरहेका छौँ। यो तथ्यलाई हामीले स्वीकार गर्नैपर्छ। ईजेबेलले आखिर एलियालाई केही पनि गर्न सकिनन्, उल्टै बेहाल भएर मारिइन्। शैतानको पनि अन्त बेहाल तरिकाले हुनेछ। परमेश्वरका जनहरूको विरुद्ध शैतानले चलाउने अस्त्रहरूमध्ये एउटाचाहिँ धम्की दिएर निराश पार्नु हो। त्रास पहिलो हतियार हो। तर्साउँदा हामी तर्सियौँ भने उसले हामीलाई भाग्ने भगौडा बनाउँछ। उठाइसकेको क्रूसलाई तल बिसाउनेसम्मका बनाइदिन्छ। येशूले धम्की मात्र होइन, मृत्युलाई नै जितिसक्नुभएको कारण हामीले धम्कीसँग डराउनु पर्दैन। त्यसको विरुद्ध डटेर अगाडि बढ्दा हाम्रा आँखाहरूले परमेश्वरको हात हामीतिर पसारिएको देख्नेछन् र हाम्रा कानहरूले ‘नडरा’ भन्ने प्रभुको वचनलाई सुन्नेछौँ। अनि मात्र हाम्रा हृदयमा यूहन्ना १६:३३ले काम गर्नेछ, जहाँ यस्तो लेखिएको छ, ‘संसारमा तिमीहरूलाई सङ्कष्ट हुनेछ, तर साहस गर, मैले संसारलाई जितेको छु।’

ख) धम्कीसँग डराउनु हुँदैन (३–४)
मानवीय हिसाबले हेर्दा, एलिया डराउनु स्वाभाविक नै थियो किनकि उनको पछि रानी ईजेबेलले नै लागेकी थिइन्। त्यसो त पहिलादेखि नै उनलाई मार्ने कानुनी उर्दी निकालिसकेको थियो। यस्तो अवस्थामा भाग्नु नै उपाय भएको भए, परमेश्वर स्वयम्ले ‘भाग, एलिया’ भन्नुहुन्थ्यो, तर आफै भाग्नुचाहिँ परमेश्वरको उपाय नभएर अचानक आफैले दिमागमा उब्जाइएको कायरता हो।

३ पदमा लेखिएको छ, ‘एलिया डराए।’ यसलाई ठेट अनुवाद गर्ने हो भने, ‘उनले देखे र उठे।’ परिस्थितिलाई देखे भन्नुपर्ने हुन्छ। परिस्थितिलाई देख्न त देखे, तर सही ढङ्गले देखेनन्, अर्थात् उनी नडराउनुपर्ने हो, डराए। नदेख्नुपर्ने कुरो देखे र देख्नु पर्नेचाहिँ देखेनन्। परमेश्वरले राख्नुभएको ठूलो योजनाको तुलनामा ईजेबेलको धम्की ठूलो देखे। आफ्नो ज्यान बचाउनु ठूलो कुरो सम्झे। यो समस्यालाई समाधान गर्नको लागि आत्मिक उपाय खोज्नुपर्नेमा भावनात्मक भैदिए र डरलाई काम गर्न दिएपछि भाग्न बाध्य भए।

अहिले एलिया बेर्शेबामा पुगेका छन्। बाल देवताका अगमवक्ताहरूलाई कारवाही गरिएको ठाउँ कार्मेल इस्राएलको उत्तर–पश्चिममा पर्दछ भने बेर्शेबाचाहिँ दक्षिणको मध्य भागमा पर्दछ – यसको लागि बाइबलको नक्सा हेर्नुस्। कार्मेलदेखि बेर्शेबाबीचको दूरी लगभग ९५ माइल टाढा पर्दछ। ईजेबेलदेखि डराएर एलिया उत्तरदेखि दक्षिणसम्म टाढाको यात्रा गरेर भागे। डर विश्वासको ठीक उल्टो हो। डराएको मानिस सुरक्षाको खोजिमा भाग्छ। यो मानसिक समस्या हो। यसले मानिसलाई भाग्ने बनाउँछ।

एलिया कहाँसम्म डराएका थिए भन्ने कुरो उनले चाकरलाई कामबाट मुक्त गरेको घटनाबाट थाहा हुन्छ। आफ्नो लागि फेरि आवश्यक नपर्ने कामदारको रूपमा लिए किनभने उनी फेरि फर्कने कुरोमा ढुक्क हुन सकेनन्।

भाग्ने बल रहेसम्म भागिरहे, तर नसकिएपछि अन्तमा अम्रिसको झाडीमा अड्किए। त्यहाँ एलियालाई चाहिने शीतलता थियो। सुरक्षा थियो। त्यो ताजापन दिने झाडी थियो। रात र दिनको चिन्ता थिएन, तर पनि उनी यति धेरै मानसिक पीडामा छटपटिएका थिए कि उनले आफ्नो मृत्युको लागि प्रार्थना गरेर भने,

”हे परमप्रभु, मेरो प्राण लिनुहोस्, मैले पूरै भोगिसकें।

म त मेरा पिता–पुर्खाहरूभन्दा असल छैनँ!”

प्रभुको सेवा गर्ने व्यक्तिको प्रार्थना पनि यस्तो हुन्छ? हामीले कहिले पनि यस्तो प्रार्थना गर्नु हुँदैन। परमेश्वरले यस्तो प्रार्थना कहिले पनि सुन्नुहुन्न।

डराएको कारण विगतमा परमेश्वरले गर्नुभएको उदेकको कामलाई एलियाले बिर्से। वर्तमानमा कुनै उपाय देखेनन्। वर्तमान नदेख्नेले भविष्य पनि देख्दैनन्। यसकारण उनले परिस्थितिलाई निकै बढाइचढाइ गरेर जीवन दिनुहुनेसँग आफ्नो मृत्यु मागे। पुर्खाभन्दा आफू असल थिए कि थिएनन् भन्ने कुरो कसैलाई स्पष्टीकरण दिनुपर्ने अवस्था थिएन, तर यसैलाई लिएर फाल्टो कुरो गरे, जब कि विगतमा एलियासँग परमेश्वरले गर्नुभएका कामहरू यस्ता थिएः

१) अनिकाल परेको बेला कागलाई खटाएर परमेश्वरले उनलाई खुवाउनुभयो। पानीकै मूलनेर उनलाई लुकाउनुभयो। अनिकाल हुँदा उनी प्रशस्ततामा रमाएको ठूलो अनुभव बिर्से। पहिला पनि दुष्ट ईजेबेलले मार्न खोज्दा उनलाई सुरक्षित ठाउँमा लुक्न परमेश्वरले सहायता गर्नुभएको घटनालाई भुले।

२) सारपातमा विधवाको घरमा तेलको भाँडाहरू भरिएको अनुभव उनीसँग थियो।

३) ओबदियाले अगमवक्ताहरूलाई बचाएर राख्नको लागि परमेश्वरले दिनुभएको सुरक्षालाई पनि उनले बिर्से।

४) सारपातमा विधवाको मरेको छोरो उनकै मध्यस्थतामा ब्यूँताएको घटना बिर्से।

५) कार्मेल पर्वतमा बालका अगमवक्ताहरूलाई मारेको घटना त झन् बिर्सनै नै नसकिने घटना थियो। त्यो घटनामा उनले देखाएको जोस देखेर डराएकै कारण ईजेबेलले उनलाई धम्की दिएको वास्तविकतालाई बिर्से –– उल्टै शक्तिशाली मानिस डराएका छन्। चाहेको खण्डमा परमेश्वरले त्यस्तो काम फेरि पनि गर्नुहुन्छ भन्ने कुरोमा कुनै विश्वास भएन।

६) अझ ताजुब लाग्ने कुरा त यो हो कि उनले आफू को हो भन्ने कुरो बिर्से।

याद गर्नुस्, धम्कीलाई सही तरिकाले स्वीकार्न जानिएन भने यसले लक्ष्यदेखि बहकाउन सक्छ किनकि कसैको विरुद्ध मृत्युको घोषणा गरेपछि त्यसको शक्ति सलबलाउन थाल्छ, अर्थात् शैतानले हाम्रो परिस्थितिलाई चलाउन सक्छ। एकलोपनलाई चलाउन सक्छ। भोकलाई चलाउन सक्छ। त्यस्तो बेला आफ्नो क्षमता, बोलावट र वरदानलाई सजिलै बिर्सन सक्छ। यसकारण एलियाले आफ्नो मृत्युको लागि प्रार्थना गरे। आफूलाई धिक्कार सम्झे। आफैलाई सरापे। परमेश्वरको योजना उदेकको छ भन्ने कुरो बिर्से। बालका ४५० जना अगमवक्ताहरूलाई मार्न सक्ने महान् एलियाले एउटी अधर्मी रानीको धम्कीको कारण डरले आफ्नो मृत्युको चाहना गर्नुको पछाडि कारण यही हो।

उपमा
शैतानले एकचोटि आफ्नो हतियारहरू लिलामीमा बिक्री गर्न राखेछ। त्यहाँ थुप्रै हतियारहरू थिए, तर एउटामा चाहिँ ‘यो बिक्रीको लागि होइन’ भनेर सूचना टाँसिएको थियो। त्यो हतियारको नाम ‘निराश’ रहेछ। किन बिक्री नगर्ने? भनेर सोधिएपछि शैतानले जवाफ दियो, ”अरू हतियार म बेच्न सक्छु तर ‘निराश’ नाम गरेको हतियारचाहिँ बेच्दिनँ किनभने ख्रीष्टियानहरूकहाँ पुग्नको लागि सजिलो हतियार यही हो। म धेरै ख्रीष्टियानहरूको हृदयमा अझै पुग्नु छ। यसबाट म जे चाहन्छु, त्यो गर्न सक्छु।’’ यो बनावटी कथा हो, तर वास्तविकतामा आधारित छ।

धेरै निराश भएर लक्षमा पुग्न नसकेका घटनाहरू बाइबलमा उल्लेख गरिएका छन्। कनान देशबाट भेद लिएर आउने १२ जासूसमध्ये यहोशू र कालेबले बाहेक सबैले निराश पार्ने खबर ल्याए। फलस्वरूप इस्राएलीहरू मिश्रमा फर्कनको लागि कमिटी नै गठन गर्नसम्म पुगे। येशूका चेलाहरू पनि व्याकुल भए, जसले पुनरुत्थान हुनुभएको येशूलाई सजिलैसँग विश्वास गर्न सकेनन्। अहिले पनि धेरै पास्टरहरूले निराश भएर सेवा छोड्दछन्। पास्टरीय सेवामा लाग्नेभन्दा छोड्नेको सङ्ख्या बढी छ – यो अध्ययनले देखाएको कुरा हो।

ईश्वरशास्त्रीय शिक्षा
यो हाम्रो कथा हो, तर अहिले हामीले एलियालाई पात्र बनाएर पढ्दैछौँ। यो हारको कथा हामीले पढ्ने मौका पाउनु भनेको यस्तो गल्ती हामीले नदोहोर्याऊन् भन्नलाई हो। हामी एलियाको गल्तीबाट सिक्दैछौँ।

निरासमा मानिस सजिलै डुब्न सक्छ। ‘म खतम भएँ, सिद्धिएँ’ भन्ने सोच अहिले पनि आउन सक्छ। डरले मानिसलाई ”परमेश्वरले मलाई बचाउनुहुन्छ” भन्ने कुरो पूरै बिर्सने बनाइदिन्छ। यसकारण बाइबलमा ‘नडराऊ, साहसी होऊ’ भनेर दिइएका आज्ञाहरूलाई हामीले दाबी गरिरहनुपर्दछ। यहोशूलाई परमेश्वरले भन्नुभयो, ‘‘बलियो र खूबै साहसी हो, नडरा, निराश नहो, किनकि तँ जहाँ गए पनि, परमप्रभु तेरा परमेश्वर, तेरो साथमा हुनुहुनेछ’’ (यहोशू १:९)। ‘‘परमेश्वरले हामीलाई डरको आत्मा होइन, तर शक्ति, प्रेम र आत्मसंयमको आत्मा दिनुभएको छ’’ (२तिमोथी १:७)। अश्शूरको सम्राट् सनहेरीबले इस्राएल देशलाई सिध्याउने धम्की दिँदा राजा हिजकियाले गरेको तरिका एकदम मलाई एकदम मन पर्छ। सनहेरीबले लेखेको धम्कीपत्रलाई हिजकियाले परमप्रभुको भवनमा लगेर फिँजाए र प्रार्थना गरे। देशका धर्मगुरुहरू उपवासमा बसेर प्रार्थना गरेपछि सनहेरीबको विरुद्ध परमेश्वर आफै खडा हुनुभयो। युद्ध नलडीकन नै इस्राएलभन्दा कैयौँ गुणा शक्तिशाली साम्राज्य अश्शूरको सम्राट् सनहेरीब हारे। हाम्रा अगाडि आएका शैतानिक धम्कीहरूलाई उहाँको उपस्थितिमा लगेर बिसाउनैपर्छ। यति गरिएन भने हाम्रो आफ्नै क्षमताले त्यसको धम्कीको सामना गर्न भ्याउँदैन। याद गर्नुस, ज्यानै लिने धम्की पनि हाम्रो सेवाको एउटा भाग हो।

ग) हाम्रा खाँचाहरू परमेश्वर जान्नुहुन्छ (५–९क)
नैराश्यताले मानिसको दिमागमा काम गरेपछि उसले आफ्नो खाँचो जान्दैन। एलिया आफैलाई पनि आफ्नो खाँचो के हो थाहा भएन। यसमा थकानले पनि काम गरेको थियो। पहिलो थकान, आफूले गरेको कामबाट थाकेका थिए। दोस्रो थकान, उत्तरदेखि दक्षिणसम्म भाग्दा–भाग्दा निकै थाकेका थिए। लगभग तीन रात सुत्न पाएका थिएनन्। कार्मेलदेखि बेर्शेबासम्म यात्रा गर्न लगभग तीन दिनको पैदल यात्रा लाग्दथ्यो। थकानको साथमा भोक र प्यासले उनी गलेका थिए। दिमाग थाकेको थियो। शरीर थाकेको थियो, जसकारण सुत्ने मौका पाउनेबित्तिकै ”झाडीमुनि ढल्के र भुसुक्कै निदाए।”

नैराश्यमा पर्दा मानिसले जहिले पनि सुरक्षाको खोजीमा एकान्त ठाउँ रोज्छन्। एलियाले पनि एकान्त ठाउँ रोजे। यो एकान्तवासलाई लकडाउन र क्वारेन्टाइन भन्न नमिल्ला किनकि उनी आफ्नो पीडालाई खेप्न नसकेपछि आफ्नो समाज र सेवाबाट हात धोएर हिँडेका थिए। यहाँसम्म कि उनले परमेश्वरलाई पनि त्यागे। लाग्दछ, अझ भाग्न सकेको भए बेर्शेबादेखि पनि टाढा जाने थिए। जे होस्, उनी जहाँ–जस्तोसुकै अवस्थामा थिए, त्यही अवस्थाबाट परमेश्वरले उनलाई उठाउनुभयो।

एलिया झाडीमा दुई पल्ट सुत्दछन् र उठ्दछन्। पहिलो पल्ट सुत्दा निद्राको खाँचो टर्यो। त्यसपछि स्वर्गदूतको छुवाइ प्राप्त गरे। यो छुवाइले उनलाई ताजा बनायो। दोस्रो पल्ट पनि स्वर्गदूतको छुवाइ प्राप्त गरे। ‘उठेर खाऊ’ भन्ने आज्ञा पाए। यो आज्ञालाई नियाल्नुस्। शारीरिक खाँचो पूरा गर्नको लागि रोटी र पानी जुटाइयो। निराशमा परेको मानिसलाई परमेश्वरको न्यानो स्पर्श चाहिन्छ, त्यो पनि दिइयो। एलियाको थकाइ मेटिसकेको थियो। बिथोलिएको निद्रा अम्रिसको झाडीमा पूरा भयो र शारीरिक खाँचो पनि पूरा भयो। दिमागले सोच्न सक्ने र शरीरमा ताजापन भएपछि नैराश्यता आफै घट्यो र बलियो भएपछि स्वर्गदूतले उनलाई बाँकी रहेको यात्रा बारे जानकारी दियो।

खाने र पिउने कुरोलाई हेर्दा परमेश्वरको उदेकको बन्दबस्त थियो भन्नुपर्ने हुन्छ। एलियालाई दिइएको रोटीलाई भजनसङ्ग्रह ७८:२४मा स्वर्गदूतले खाने रोटीसँग तुलना गर्नुपर्ने हुन्छ। त्यहाँ स्वर्गदूतहरूको खानालाई मन्न भनेका छन्। एलियाको खाना पनि मन्न थियो भन्न खोजेको होइन, बरु स्वर्गदूतले पक्कै पनि विशेष खाना दियो। भजन ९१:११–१६मा उल्लेख गरिएजस्तै उनले स्वर्गदूतबाट सेवा प्राप्त गरे। येशूलाई पनि परीक्षापछि स्वर्गदूतले यसरी नै सेवा गरेका थिए (मत्ती ४:११)।

निश्चय नै स्वर्गदूतले उपलब्ध गराएको रोटी असाधारण किसिमको थियो जसबाट बल पाएर ४० दिन र ४० रात यात्रा गरेर होरेब पर्वतमा पुगे। ‘होरेब’ पर्वत सीनै पर्वतको अर्को नाम भनेर सम्झनुस्। यो परमप्रभुको पर्वत हो, जहाँ परमेश्वरले इस्राएलीहरूलाई मोशामार्फत १० आज्ञा दिनुभयो। होरेब मोशाले ४० दिन ४० रात परमेश्वरसँग बिताएको ठाउँ थियो। त्यहाँ मोशाले जस्तै एलियाले पनि परमेश्वरलाई नजिकबाट नियाल्ने मौका पाए। येशूको रूप परिवर्तन हुँदा मोशा र एलिया सँगै देखा पर्नुबीचको तालमेल छ। अम्रिसको झाडी एलियाको छनोट थियो भने उहाँको छनोटचाहिँ होरेब थियो।

यहाँनेर हामीले ख्याल गर्नुपर्ने कुरोः एलियाले जति ठूलो समस्या सम्झेका थिए, वास्तवमा त्यति ठूलोचाहिँ होइन रहेछ – निद्रा, तातो रोटी र सुरहीको पानी पिएसँगै परमेश्वरको छुवाइ प्राप्त गरेपछि उनका नैराश्य आफै हटेर गयो। हाम्रा अधिकांश समस्याहरू दिमागबाट जन्मेका हुन्। यसलाई दिमागबाट बिसाउनुपर्छ, जसको लागि आराम–खाना–परमेश्वरको छुवाइ चाहिन्छ। साथै आत्मामा थाक्दा र निराश हुँदा पनि वचनको रोटी र पानीको आवश्यकता पर्छ।

हामी पनि झाडीमा लुकेका हुनसक्छौँ र झाडीमा छौँ भने, त्यसलाई ताजा बनाउने ठाउँको रूपमा उपयोग गर्नुपर्छ, तर त्यो सधैँको लागि बसिरहने ठाउँ होइन। हाम्रो गन्तव्य होरेब हो, तर झाडीमा हुञ्जेल आफूलाई यी आत्मिक भोजनपानीद्वारा आफूलाई बलियो बनाउने समयको रूपमा उपयोग गर्नुहोस्।

यो घटनामा परमेश्वरले नपत्याउँदो किसिमले स्वर्गदूतद्वारा एलियासँग काम गर्दै हुनुहुन्छ। सबैभन्दा पहिला, निद्रा वा सुत्न दिनुभयो। दोस्रो, स्वर्गदूतले छोएर ब्यूँझाए – दुई पल्ट छोएर ब्यूँझाएका छन् (६–७ पद)। तेस्रो, खाने र पिउने थोक दुई पल्ट दिइयो (६–७ पद)! दुवै पटक दूतले ‘उठेर खाऊ’ भने र उनी तङ्ग्रिएपछि थप योजना थोरै शब्दमा सुनाइयो –– ”यात्रा तिम्रो लागि साह्रै लामो छ।” यात्रा भनेको यति मात्र हो भन्ने सोच राखेका थिए एलियाले, तर यहाँ हामी पढ्दैछौँ, ‘यात्रा साह्रै लामो छ।’ कहाँसम्मको यात्रा अहिले नै खुलाइएको छैन र खुलाउन आवश्यक पनि देखिँदैन किनकि एकपछि अर्को मेलैसँग उहाँले आफ्नो समयमा प्रकाश पार्न लाग्नुभएको थियो। भाग्ने बेला उनले परमेश्वरको राय लिएनन् किनकि निराश हुँदा यस्तै हुन्छ। एलियाजस्तो मानिसको लागि ईजेबेलको धम्की केही थिएन, तर ३ पदमा लेखिएजस्तै परिस्थितिलाई सही दृष्टिबाट हेर्न नसक्दा उनले यसो भन्न सकेनन्, ‘तिम्रो धम्कीसँग म डराउँदिनँ!’ त्यति भन्न सकेको भए यसरी थाक्ने र समयको बरबाद पारेर भाग्नुपर्ने थिएन। जे होस् यस्तो अवस्थालाई पनि परमेश्वरले अमूल्य पाठ हुन दिनुभयो।

ईश्वरशास्त्रीय शिक्षा
निराशामा परेका मानिसहरूलाई कसरी परामर्श दिने भन्ने पाठ हामी आजका पास्टर र अगुवाहरूलाई यहाँबाट परमेश्वरले सिकाउँदै हुनुहुन्छ। आज हामी पनि निराशमा पर्दा पहिलो कुरो,

परमेश्वरबाट सित्तैँमा पाएको दान निद्रालाई ध्यान दिन जोड गर्नुपर्दछ। यो मानिसको मानसिकतासँग सम्बन्धित छ।

दोस्रो, खाना र पानीजस्ता भौतिक कुराहरूलाई पनि ध्यान दिइनुपर्दछ। यी भौतिक थोक त चाहियो–चाहियो, तर त्यतिले मात्र पुग्दैन,

तेस्रो कुरो, स्वर्गदूतको छुवाइ पर्यो, अर्थात् परमेश्वरको छुवाइ चाहिन्छ। यो भएन भने हाम्रो परामर्श अपूरो हुन्छ।

यहाँ हामी एउटा क्रम देख्दछौँ, मानसिक – भौतिक – आत्मिक! सबैभन्दा पहिला आत्मिक खाँचो नभएर भौतिक खाँचो पूरा गर्नुभयो। यी सबै खाँचाहरू पूरा गर्नको लागि हामीलाई पनि अम्रिसोको झाडीको अनुभवबाट डोर्याउन चाहनुहुन्छ, जुन सर्वशक्तिमान्को गोप्य उपस्थिति हो, जहाँ वचनको रोटी र पानीद्वारा आफूलाई बलियो पार्ने मौका मिल्दछ।

बोलावट र वरदान पाएर पनि परमेश्वरलाई नै त्यागेर भाग्नेहरूलाई उहाँले अझै पनि पर्खिरहनुभएको छ। आज पनि तिनीहरूलाई एक भगौडाको रूपमा नभएर पुनस्थापना गरिनुपर्ने एलियाको रूपमा हेर्नुहुन्छ। बेर्शेबातिर भाग्दै गर्ने पाइलाहरूलाई निश्चित गन्तव्यमा परिणत गर्नुहुन्छ र अन्तमा होरेब, अर्थात् आफ्नो उपस्थितिमा पुर्याउन चाहनुहुन्छ। हामी थाक्दछौँ, तर परमेश्वर कहिले पनि थाक्नुहुन्न।

कसैको धम्कीको कारण हामी डराएर भाग्यौँ भने यसले जीवनलाई भद्रगोल पार्नेछ। हामी पनि एलियाले जस्तै मृत्यु मात्र देख्ने मानिस हौँ। हामी भागिसकेका छौँ र कसैले नदेख्ने झाडीमा पुगेका छौँ भने त्यसैलाई सुरुआतको बिन्दु बनाउन लागौँ। बाँकी काम उहाँले नै गर्दै जानुहुनेछ। वचनमा लेखिएको छ,

तिमीहरूका सारा फिक्री उहाँलाई सुम्‍पिदेओ, किनकि उहाँले तिमीहरूको वास्‍ता गर्नुहुन्‍छ (१पत्रुस ५,७)।

हामीले थेग्ने नसक्ने कष्टमा पर्न दिनुहुन्न र हामीले कष्ट भोग्नैपर्ने रहेछ भने पावललाई जस्तै कमजोरीमा उहाँको अनुग्रह प्रशस्त मिल्नेछ। अय्यूबलाई जस्तै थाम्नुहुनेछ। प्रभुले हामीलाई यस वचनबाट आशिष् देऊन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button