BusinessFoodsGamesLife StyleTechTravelWorld

मण्डलीमा क्रान्ति यसकारणले खाँचो

पाँचौँदेखि पन्ध्रौँ शताब्दीसम्मको अवधिलाई विश्वको मण्डली इतिहासमा अन्धकारको युग भनिन्छ। लगभग एक हजार वर्षसम्म चलेको यस युगमा बाइबललाई तोडमोड गरियो। थुप्रै गैर–बाइबलीय चलनहरूलाई मण्डलीभित्र ल्याइयो। मरियमलाई पूजा गर्ने चलन छैटौँ शताब्दीतिर भित्र्याइयो। त्यसपछि येशूका तस्बिरहरू कोरिए। सन्तहरू पुजिए। प्रेरित र अन्य सन्तहरूको नाममा प्रार्थना गरेपछि उदेकका कामहरू भएको कथाहरू फैलाइए। कालान्तरमा पोपको युग उदय भयो। पोपले बोलेको कुरो परमेश्वरकै बोली ठहर्याइयो। तिनीहरूले ख्रीष्ट र मण्डलीलाई अति बेइज्जत गरे।

पन्ध्रौँ शताब्दीसम्म आइपुग्दा, मण्डलीमा सेवा गर्नेहरूसँग बाइबलको ज्ञान नै भएन। सर्वसाधारणलाई बाइबल पढ्ने अनुमति थिएन। खुलेआम पाप गर्नेहरूलाई समेत मण्डलीले दिएको टिकटले स्वर्ग पुर्याउँछ भन्ने शिक्षा दिइयो। आफन्तहरूले मण्डलीमा दान दिएपछि मृतकहरू स्वर्ग जान्छ भन्ने चलन ल्याएर मण्डलीलाई कमाएर खाने ठाउँ बनाए। मण्डलीमा पदाधिकारीहरूले पदको किनबेचसम्म गरे।

पन्ध्रौँ शताब्दी अस्ताउन लाग्दा रोमन क्याथोलिकहरूको आश्रमको अध्ययनरत् मार्टिन लुथर (मार्टिन लुथर किङसँग नझुक्किनु होला) नाम गरेको ख्रीष्टियान साधुले बाइबल पढेपछि उनको होस खुल्दछ। ख्रीष्टियान भनेर चिनिनेहरूले त्यतिखेरसम्म जे गर्दै थिए, ती बाइबलसम्मत नभएको पत्ता लागेपछि उनले मण्डलीमा सुधारको लागि कदम चाले, जसअनुरूप अक्टोबर ३१, १५१७को दिन ९५ बुँदे सुझावहरू तयार पारेर मण्डलीको मूल ढोकामा टाँगे (नेपालीकरण गरिएका ती बुँदाहरू तपाईंले ‘मार्टिन लुथरद्वारा लिखित ९५ बुँदे थेसिस’ पढ्न सक्नुहुन्छ)। मार्टिन लुथरले ‘बाइबल र विश्वास’ मात्र पर्याप्त छ भनेर जोड दिएपछि पोपहरू आफ्नो अधिकार गुम्ने डरले तर्सिए। पश्चात्ताप गर्नुको साटो तिनीहरू लुथरको ज्यानको पछि लागे। एउटा छिमेकी राजाले आफ्नो दरबारमा शरण दिएर मात्र उनी बाँचे।

लुथरद्वारा चलाइएको यस अभियानलाई विश्व मण्डली इतिहासमा महान् क्रान्तिको रूपमा लिइन्छ। प्रोटेस्टेन्ट समूह यही अभियानको फल हो। रोमन क्याथोलिक मण्डली अझै पनि जहाँको तहीँ छ, तर प्रोटेस्टेन्ट समुदायभित्र शुद्धीकरणले विभिन्न चरणहरू समाइसकेका छन्।मण्डलीमा गैर–बाइबलीय चलनहरू थपिनसक्ने खतरा अहिले पनि छ, तर अहिले पनि यसलाई जाँच्ने कडी भनेको ‘बाइबल’ र ख्रीष्टमाथि गरिने ‘विश्वास’ नै हो। मण्डलीको शुद्धीकरण कहिल्यै नटुङ्गिने प्रक्रिया हो, तर यसको लागि ख्रीष्ट आफैले नै शुद्धीकरणको जिम्मा लिनुहुन्छ किनकि मण्डली उहाँकै हो र यसको शिर पनि उहाँ नै हुनुहुन्छ (एफिसी १:२१–२१)।

मण्डलीको सुधारको लागि आजसम्म ख्रीष्टियान राजा, सम्राट् वा कुनै शक्तिशाली शासकहरूको पहल देख्न पाइँदैन, बरु आफ्नो मण्डलीलाई बलियो पार्नको लागि पवित्र आत्माले मार्टिन लुथरजस्ता सामान्य मानिसलाई चलाउनुभयो। आज हामी गर्व गर्नलायकको ऐतिहासिक घडीमा छौं। यस क्रान्तिले ५०५ वर्षसम्म निरन्तरता पाउनु आफै पनि आश्चर्यपूर्ण छ। सायद हामीमध्ये कतिलाई इतिहासको ज्ञान नहोला, तर सत्य यही हो कि मण्डलीलाई ख्रीष्टले नै शिर भएर डोर्याउँदै हुनुहुन्छ।

सन्दर्भ ग्रन्थ–सूची

1. Gonzalez, Justo L. The Story of Christianity: The Reformation to the Present Day, vol. 2. New York: Harper San Francisco, 1984.

2. Kuiper, BK. The Church in History. Burlington, Ontario: CSIPublications, 1964.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button